काठमाडौं । विद्युतीय कसूरको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ ।
प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।
सो निवेदन सर्वोच्चका न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेशी परेको थियो । रिट खारेज गरेको सर्वोच्चले छिटो अनुसन्धान गरेर टुंग्याउन सरकारका नाममा निर्देशनात्मक आदेश भने जारी गरेको छ ।
सर्वोच्चमा उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
यसअघि सर्वोच्चले प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित दुई दिनभित्रमा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएकोमा मंगलबार प्रसाईंलाई प्रहरीले सर्वोच्चमा उपस्थित गराएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गलत प्रचार गरेको भन्दै विद्युतीय अपराध (साइबर क्राइम) को आरोपमा प्रहरीले मंसिर ४ मा प्रसाईंलाई पक्राउ गरेको थियो।
प्रसाईविरुद्ध यसअघि पनि साइबर अपराधमा मुद्दा दर्ता भएको थियो । उनी १ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए । उक्त मुद्दा हालपनि विचाराधीन छ ।




