काठमाडौँ । आइतबार भएको उपनिर्वाचनको (उपनिर्वाचन-२०८१) सबै नतिजा सार्वजनिक भएको छ । स्थानीय तहको रिक्त ४१ पदका लागि भएको निर्वाचनको सबै नतिजा निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख लगाएतको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो ।
कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल ५३३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जनले ४५५५ मत प्राप्त गर्नुभयो ।
दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी हुनुभएको छ । उहाँले २८०५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार निम लेकी शेर्पाले २६०० मत प्राप्त गर्नुभयो ।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिल्सिना १६३७ मत सहित विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई (१५९४) पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार तिमिल्सिनाले ४३ मत अन्तरले विजयी हुनुभएको हो ।
आयोगका अनुसार उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे ५५९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
मत परिणामअनुसार कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडाध्यक्षमा जीत हासिल गरेको छ । यसैगरी एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वटा वडामा विजयी भएको छ । माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वटा वडामा जीत हासिल गरेको छ ।
उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी-१, राष्ट्रिय स्वतन्त्र पार्टी-१, नेपाल मजदुर किसान पार्टी-१ स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवारले पनि १ वडाध्यक्षमा स्थान बनाउनुभएको छ । कूल ४४ पदका लागि उपनिर्वाचनको कार्यतालिका रहे पनि आइतबार ४१ पदका लागि मात्रै मतदान भएको थियो ।
ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र रुकुमपूर्वको पुथा उत्तरगङ्गा–२ को वडाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको थियो । आयोगका अनुसार नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडाध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका दुई सय ७४ जना र स्वतन्त्र एक सय दुई जना गरी जम्मा तीन सय ७६ उम्मेदवार थिए ।
कहाँ को निर्वाचित भए
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी ६९६९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले ५३३३ मत प्राप्त गर्नुभयो ।
दैलेखको महाबुँ गाउँपालिकाको अध्यक्षमा एमालेका जङ्गबहादुर शाही ३१२७ मतसहित विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले २६७५ मत ल्याउनुभयो ।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने ४२७२ मत सहित निर्वाचित हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका इन्द्रा चन्द (सिंह) ले ३१४७ मत प्राप्त गर्नुभएको छ ।
रुकुम (पूर्व भाग) को पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुर बुढा ३६२७ मत ल्याएर विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनले २१२८ मत मात्रै पाउनुभयो ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी हुनुभयो । उहाँले १७४० मत ल्याउँदा कांग्रेसका पुल्तीसरा शाहीले १४७४ मत पाउनुभयो ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन ३५३ मतसहित विजयी हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेनले दुई सय ५१ मत प्राप्त गर्नुभयो ।
झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ४९३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले ३५६ मत पाउनुभयो ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेसका नगेन्द्र लिम्बू ४४० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँसँग एमालेका बुद्धबहादुर लिम्बू ३६० मत प्राप्त गरी पराजित हुनुभयो ।
सुनसरीको गढी गाउँपालिका–६ मा कांग्रेसका तेतर साहु ८१६ मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रका कुशेश्वर खेरवार ७९४ मत प्राप्त गरी पराजित हुनुभयो ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा एमालेका गङ्गाबहादुर तामाङ ३९९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका घनश्याम दाहाल १७७ मत पाएर पराजित हुनुभयो ।
उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई विजयी हुनुभयो । उहाँले ९२३ मत पाउँदा एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत प्राप्त गर्नुभयो ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह (६५२) निर्वाचित हुनुभएको छ । उहाँसँग कांग्रेसका भूलियादेवी थरुनी ५८७ मत मात्र प्राप्त गरी पराजित हुनुभयो । डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव ३७२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी कांग्रेसका जोगिन्द्रराय अमातले २७७ मत पाउनुभयो ।
धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनील कापर केवट ६८४ मतसहित विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी कांग्रेसका अशोककुमार मण्डलले ६०२ मत प्राप्त गर्नुभयो ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिवुल खाँ ६३१ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँको प्रतिस्पर्धी आइतीकुमारी यादवले ५३४ मत प्राप्त गर्नुभयो ।
रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक ६२७ मतसहित विजयी हुँदा एमालेका शेख अनवार ५७५ मत प्राप्त गर्नुभएको थियो । गढीमाई नगरपालिका–८ एकीकृत समाजवादीका बजरङ्गी प्रसाद यादवले ६५५ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका जीउतीदेवी यादवले ६३१ मत पाउनुभयो । रौटहटकै राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम ७४४ मतसहित विजयी हुँदा माओवादीका जिकरलाह ४६३ मत पाई पराजित हुनुभयो ।
नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे १०८५ मत प्राप्त गरी विजयी हुनुभयो । कांग्रेसका सूर्य तामाङले ५८७ मत प्राप्त गर्नुभयो ।
काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष रोजिना श्रेष्ठले २९०२ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत प्राप्त गरी पराजित हुनुभयो ।
काठमाडौँका कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाई निर्वाचित हुनुभयो भने एमालेका हर्ष महर्जनले ४९८ मत मात्रै पाउनुभयो । यस्तै वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी हुनुभयो । उहाँले ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी) ले ४९५ मत पाउनुभयो ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी २०६३ मतसहित विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी माओवादीका रविकुमार प्रधान एक हजार ५६० मतसहित पराजित हुनुभयो ।
गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर ४८६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी भाइकाजी आलेले ४०२ मत मात्र पाउनुभयो ।
गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठले ११८४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका दलबहादुर थापाले ९३० मत पाउनुभयो ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ मा एमालेका मोहमद ताहिर मुलसलमाले ११५० मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका दिनेशकुमार यादवले १०७६ मत पाउनुभयो ।
रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भूपमणि पुनमगर ६४३ मतसहित विजयी हुँदा एमालेका वेगम पुनले ५३५ मत पाउनुभयो ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उम्मेदवार अमिन थारु १०४३ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी शेरबहादुर थारुले ६७८ मत पाउनुभयो ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री १६१ मतसहित निर्वाचित हुनुभयो । उहाँको प्रतिस्पर्धी नरबहादुर रोकाले ११६ मत पाउनुभयो ।
कालिकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही एक सय ४३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी माओवादीका नौशोभा शाही एक सय १५ मतमा सीमित हुनुभयो ।
जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह ३४७ मत ल्याएर विजयी हुँदा माओवादीका गोरखबहादुर नेपालीले ३३२ मत पाउनुभयो ।
दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही ५७४ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत पाउनुभयो ।
रुकुम (पश्चिम भाग) को सानीभेरी गाउँपालिका–५ मा कांग्रेसका मोतीराम खत्री ५९० मतका साथ निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी माओवादीका जसीराम बस्नेतले ५३७ मत पाउनुभयो ।
बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा ६५७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहोरा ४८७ मतमा सीमित हुनुभयो ।
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा ४६८ मतका साथ निर्वाचित हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापाले ३०१ मत पाउनुभयो ।
दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर ३७६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका मानसिंह बडाल ३५८ मतमा सीमित हुनुभयो । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द ११०७ मतसहित निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका बहादुर चन्दले ४८७ मत ल्याउनुभयो । (स्रोत: निेर्वाचन आयोग)




