काठमाडौँ । नेपाल पत्रकार महासंघको नेतृत्वको लागि शुक्रवार भएको मतदानको प्रारम्भिक मत परिणाममा नेपाल प्रेस युनियन र प्रेस चौतारीको प्यानलबाट अध्यक्षको उम्मेदवार बनेकी निर्मला शर्माले लिड गरेकी छिन्। तर उनको लिडको सङ्ख्या भने कम छ ।
मत क्रस नहुने रेकर्ड राखेका जिल्लाहरूको मत परिणाममा युनियनबाट विद्रोह गरेर प्रेस सेन्टरसहितको समूहसँग गठबन्धन गरेका रमेश विष्टले कडा टक्कर दिएका छन्।
बिभिन्न जिल्लाको प्राप्त मत परिणाम अनुसार शर्मा ७ सय ८७ मतले अगाडि छिन्। विष्ट ५ सय १२ मतले शर्मालाई पछ्याइरहेका छन्। दुबैबीच २ सय ७५ मतको अन्तर देखिएको छ।
यस अगाडिको निर्वाचनको ट्रेन्डमा प्रतिष्ठान र एसोसिएटको भोट कुनै निश्चित प्यानलमा खस्ने नगरे पनि जिल्लामा भने प्यानल हावी हुने गरेका थिए। यस पटक सो ट्रेन्ड ब्रेक भएको देखियो।
अहिलेसम्म रुकुमपुर्ब, रुकुमपश्चिम, धनुषा, तनहु, बर्दिया, कन्चनपुर, ललितपुर, झापा, महोत्तरी, सोलुखुम्बु, पाल्पा, नवलपरासी, रामेछाप, रौतहट, मकवानपुर,कपिलवस्तु, प्युठान, बैतडी,सिन्धुली, ओखलढुङ्गा, दोलखा, मनाङ, सर्लाही, भक्तपुर, नुवाकोट, खोटाङ. हुम्ला, अर्घाखाँची, बागलुङ, मुगु, डोल्पा र रोल्पाको परिणाम सार्वजनिक भएको बताईएको छ ।
तीनै तहको नेतृत्वका लागि शुक्रवार मतदान भएको थियो। साढे नौ हजार मतदाता रहेकोमा कति मत खस्यो त्यो भने अझैँ सार्वजनिक भएको छैन।




