काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा आउँदो पुस २१ गतेदेखि २७ गतेसम्म गोरखा–काठमाडौं ऐतिहासिक पदयात्रा हुने भएको छ । नेपाली सेनाको अगुवाईमा बिगत बर्षहरुमा झैँ यसबर्ष पनि सेनाको रिपुमर्दन गणले विभिन्न पालिकाहरुको सहयोगमा एकीकरण पदयात्रा गर्न लागेको हो ।
पृथ्वीनारायण शाहकालीन पोशाकमा सजिएका सेनाले पृथ्वीनारायण शाहले स्थापना गरेका श्रीनाथ गण, कालीबक्स गण, पुरानो गोरखगण, बर्दबहादुर गण र सबुज गणको झण्डा, राष्ट्रिय झण्डा र टर्चसहित एकीकरण पदयात्रा गर्न लागेका हुन् । उनीहरु पुस २७ गते हनुमानढोका दरबार पुग्ने गरी पुस २१ गते गोरखाबाट प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ ।
रिपुमर्दन गणका गणपति अशोक कुमार क्षेत्रीले यो वर्षको गोरखा–काठमाडौं पदयात्रा बिगतको भन्दा अझैँ आकर्षक र व्यवस्थित बनाइने बताएका छन् । मंगलबार गोरखा नगरपालिकामा बसेको बैठकले विगतका वर्षहरुको तुलनामा यो वर्षको पदयात्रा जनसहभागिता पूर्ण, अझैँ आकर्षक र व्यवस्थित बनाइने निर्णय गरेको उनले जानकारी दिए ।
‘यसपालिकाको गोरखा–काठमाडौं पदयात्रालाई गोरखा नगरपालिकाको पर्यटन वर्षसँग जोडेर अगाडि बढाउने निर्णय भएको छ’, उनले भने, ‘यो वर्ष गोरखा दरबार परिसरमा भव्य कार्यक्रम गरी विद्यार्थी, स्थानीय, सरोकारवाला निकायहरु लगायतको सहभागितामा पदयात्रा सुरु गर्ने छौँ ।’
सेनाले विगतका वर्षहरुमा झैँ यही पुस २१ गते राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर एकीकरण मार्गमा पदयात्रा गर्न लागिएको हो । तत्कालिन राजा पृथ्वीनारायण शाहले एकीकरणको क्रममा यात्रा गरेको गोरखादेखि काठमाडौंसम्मको पदमार्गमा सेनाले पदयात्रा गर्नेछन् ।




