काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले भोलि बिहीबार र शुक्रबार मौसम सामान्यतया सफा रहे पनि शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुनेछ ।
“आज र भोलि खासै वर्षाको सम्भावना छैन, आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का हिमपात हुने देखिन्छ”, उहाँले भन्नुभयो, “शुक्रबारदेखि प्रणाली भित्रिने भएकाले रातिबाट बादल लागेर शनिबार वर्षा हुने देखिन्छ । देशैभर बदली रहे पनि वर्षा सुदूरपश्चिम, कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।”
महाशाखाको रेकर्डमा आज काठमाडौँको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्रिसेल्सियस र अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबिच रहनेछ । गत मङ्सिर २९ गते न्यूनतम तापक्रम घटेर २ दशमलव ५ डिग्रीसेल्सियस पुगेको थियो । आज आकाश खुलेकाले बिहीबार र शुक्रबार न्यूनतम तापक्रम घट्ने मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।




