काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठकको मिति तोकेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालय बैठकले आगामी पुस २० र २१ गते आठौँ केन्द्रीय कमिटी बैठक तोकेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
नेता ज्ञवालीका अनुसार केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक कामका बारेमा जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेको निर्णयको अनुमोदन र समसामयिक राजनीतिक विषय भनेर चार वटा कार्यसूची तय गरिएको छ ।
बैठकले नेपाली कांग्रेससँगको सहकार्यमा पाँच महिना सरकारले गरेको काममा सन्तुष्टि व्यक्त गरेको निष्कर्ष निकालेको छ । “यो पाँच महिनाको अवधिमा महत्त्वपूर्ण काम अघि बढेकामा बैठकले सन्तुष्टि पनि व्यक्त गरेको छ” उपमहासचिव ज्ञवालीले भन्नुभयो, “सरकारका काममा थप गति ल्याउनुपर्ने धेरै सुधारका काम अगाडि बढाउनुपर्ने बोधसमेत बैठकले गरेको छ ।”
उपमहासचिव ज्ञवालीले सरकार बनेपछि अर्थतन्त्रमा सकारात्मक सुधार देखापरेको बताउनुभयो । उहाँले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएर ऐन बनेर आयोग बन्ने प्रक्रियामा रहेको बताउनुभयो ।
यस्तै नेकपा एमालेले नेता भीम रावललाई पार्टीको सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ। बुधबार बसेको एमालेको सचिवालय बैठकले संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेको उपमहासचिव प्रदीव ज्ञवालीले बताए।
उनका अनुसार रावले पार्टीको निर्देशन नमानेर उल्टै पार्टीको हित विपरीत काम गर्दै आएका छन्।
‘पछिल्लो महाधिवेशनमा उहाँ अध्यक्षको उम्मेदवार बन्नुभयो। उपाध्यक्ष बन्न आग्रह गर्दा पनि मान्नुभएन। केन्द्रीय सदस्य पनि बन्नु भएन। सल्लाहकार दिए पनि जिम्मेवारी निर्वाह गर्नुभएन। त्यसैले उहाँलाई संगठित सदस्यबाट मुक्त गर्ने निर्णय पार्टीले गरेको हो,’ उपमहासचिव ज्ञवालीले भने।
नेकपा एमालेले नेता भीम रावल सहित अन्यलाई पार्टीको सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ ।




