काठमाडौं । थारु समुदायमा आजबाट माघ (माघी) पर्व सुरु भएको छ । गाउँ गाउँमा जिता मारिएका छन् । बालबालिकादेखि वृद्धावृद्धासम्म रमाइरहेका छन् । माघ सम्बन्धित गीतले थारु बस्ती गुञ्जायमान बनेको छ ।
माघ थारु समुदायको सबैभन्दा ठुलो पर्व र नयाँ वर्ष पनि हो । भोलिदेखि थारु सम्वत २६४८ सुरु हुँदैछ । थारु समुदायमा पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म माघ पर्व धुमधामपूर्वक मनाउने चलन रहेको छ । यस दिन विहानै जिता मार्ने गरिन्छ । हरेकको घरमा सुङ्गुरको मासुसहित मिठा परिकार पाक्ने गर्दछ ।
यस दिन ढमार, ढुमरु गीत र मघौटा नाचमा रमाउँदै मिठा परिकार खाने चलन रहेको रहेको छ । माघको पहिलो दिन थारु सम्वतको अन्तिम दिन हुने गरेकाले यस दिन वर्षभरिको दुःखपीडा बिर्सेर रमाउने परम्परा रहेको छ ।
जिता मारेसँगै गाउँघरमा माघको चहलपहल बढेको धनगढी उपमहानरपालिका –५ जाइँका भलमनसा कुलवीर चौधरीले बताउनुभयो । उहाँले आजदेखि तीन दिनसम्म थारु बस्ती माघमय रहने जानकारी दिनुभयो ।
माघ १ गते थारु समुदायको नयाँ वर्ष हो । आफ्नो नयाँ वर्षको दिन यो समुदायका मानिस विहानै नदी, तलाउ, खोलामा नुहाएर आफूभन्दा ठुलालाई ढोग सलाम गर्ने र सानालाई आशीर्वाद दिने गर्दछन् । यसदिन रिसराग, आपसी वैमनस्यता, झैझगडा सबै बिर्सेर एक आपसमा आत्मियता दर्शाउनुका साथै शुभकामना आदानप्रदान गर्ने चलन छ ।
यसैगरी, मासु, ढिक्री, तरुल लगायतको परिकार खाने र आफन्तहरुलाई खुवाउने गरिन्छ । यस दिन एकअर्कालाई सेवाढोग गरेमा रिसराग, आपसी वैमनस्यताको अन्त्य हुने विश्वास थारु समुदायमा रहेको छ ।
माघ २ गते अर्थात माघ पर्वको खोज्नीबोज्नी गर्ने दिन हो । यस दिन अघिल्लो आर्थिक वर्षको समीक्षा गर्दै नयाँ वर्षको लागि योजना बनाउने गरिन्छ । यसैगरी, यहि दिन गाउँको नेतृत्व गर्ने व्यक्ति वरघर चयन गर्ने चलन पनि रहेको छ । माघ पर्वको अन्तिम दिन आफ्ना विवाहित छोरीचेलीलाई उपहारको रुपमा चामल दिने गरिन्छ, जसलाई निसराउ भनिन्छ ।
माघ पर्व सकिएसंगै थारु समुदायमा विवाह, नयाँ घर बनाउने लगायतका कामको सुरुवात हुने गर्दछ । माघ धार्मिक, साँस्कृतिक, सामाजिक र आर्थिक महत्व बोकेको पर्व रहेको थारु अगुवा दिलबहादुर चौधरीको भनाइ छ ।
पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ ।
विशेषगरी पुस महिनाको अन्तिम दिनदेखि सुरू भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ बस्तीमा यो पर्व सुरू भएको थारू अगुवा प्रभातकुमार चौधरीले जानकारी दिनुभयो ।
आज बिहानैदेखि थारू गाउँहरूमा मासुका लागि जिता मार्ने (बङ्गुर काट्ने) क्रियाकलाप सुरू भइसकेको थारू अगुवा चौधरीले बताउनुभयो । त्यस्तै राति थारू जातिको संस्कृतिअनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, भगवान्का नाममा ध्वनि जगाएर (धमार) भजनर्कीतन गर्ने, आगो ताप्ने, गञ्जी, तरूलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको उहाँले बताउनुभयो ।
“माघे सङक्रान्तिका दिन विशेष गरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गर्ने र नुहाउने बेला नदीमा डुबुल्की लगाएर सिक्का पैसा छोड्ने गरिन्छ । त्यसपछि नुहाइसकेपछि धमार गाउँदै घरमा आएपछि घरका महिलाले छुट्याइएको चामल र मासको दाललाई छुने र ती छोएका चिज घरका छोरीबेटीलाई छुट्याउने प्रचलन छ”, उहाँले भन्नुभयो, “त्यसपछि घरमा भएका पूर्खा तथा आफूभन्दा ठूलाबडाबाट आर्शीवाद लिने परम्परा रही आएको छ ।” तेस्रो दिन अर्थात् माघ २ गते चामल र मासको दालको खिचडी खाने, नजिकैका बजारमा जाने परम्परा पनि रहेको उहाँले बताउनुभयो ।(गोरखापत्रबाट)





