काठमाडौं । गैरकानुनीरूपमा बसोबास गर्ने तीन जना नेपालीलाई अमेरिकाले निष्कासन गरेको छ। अमेरिकी अध्यागमनले लोकबहादुर ओली, लीलाबहादुर केसी र दीपक केसीलाई निष्कासन गरेको हो।
स्रोतका अनुसार लोकबहादुर गैरकानुनीरूपमा अमेरिकामा प्रवेश गरेका थिए। लीलाबहादुर र दीपक पनि गैरकानुनी तरिकाले अमेरिकामा बस्दै आएका थिए। स्रोतका अनुसार उनीहरू गत साता काठमाडौं आइपुगेका छन्। एयर इन्डियाको जहाजबाट उनीहरू काठमाडौं आएका हुन्।
उनीहरूले अमेरिकामा कस्तो कानुन उल्लंघन गरेको भन्ने विषयमा खुलेको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि गैरकानुनी तरिकाले बसोबास गर्ने आप्रवासीहरू आतंकित बनेका छन्। उनले सपथ लिएकै दिन आप्रवासनसम्बन्धी नयाँ कार्यादेश जारी गरेका छन्। जसअन्तर्गत गैरकानुनीरूपमा अमेरिकामा बस्दै आएका आप्रवासीहरूलाई फिर्ता पठाउने नीति ट्रम्प प्रशासनले लिएको हो। राष्ट्रपति ट्रम्पले यसविरुद्ध कडारूपमा लाग्ने बताएका छन्। यसअघि पनि अमेरिकामा गैरकानुनी रूपमा बसोबास गर्दै आएका नेपालीहरू निष्कासनमा परेका थिए।
यस्तै, गैरकानुनीरुपमा अमेरिका र फ्रान्स बसेका दुई नेपाली निष्काशित भएका छन्। अमेरिका बस्ने भीम नारायण पुन र फ्रान्स बस्ने विजय थापालाई त्यहाँको अध्यागमनले निष्काशित गरेको हो। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेपछि उनीहरू पक्राउ परेका थिए।
दुवैजनालाई एयर इण्डियाको जहाजबाट काठमाडौं पठाएको हो। उनीहरूले अध्यागमनको कस्तो कानुन उल्लंघन गरेको बारे उल्लेख गरिएको छैन। यद्दपि स्रोतले उनीहरू भिसाको म्याद सकिए पछि पनि लुकिछिपी त्यहाँ बस्दै आएको दावी गरेको छ।(यो खबर चाही गत मंसिरको हो ।)




