काठमाडौं । प्रसिद्द पिठ केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वका अवसरमा बुधबार एकैदिन ६० हजार दर्शनार्थीले भगवान श्री डोलेश्वर महादेवको दर्शन एवं पूजा गरेका छन् । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतकाअनुसार बुधबार बिहान ४ बजेदेखि मन्दिरको चारै ढोका खुल्ला गरेर मन्दिर प्रवेश गराई महादेवको शिलामै पूजा गर्ने व्यवस्था गरिएको थियो ।
महाशिवरात्रिको दिन भक्तजनलाई एक हजार १०० मा पूजा सामग्रीसहित पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको थियो । नेपाली र भारतीय पर्यटकले डोलेश्वरमा ६० हजारभन्दा बढीले पूजा एव दर्शन गरेको महासचिव बस्नेतले बताए । रातभर मन्दिर परिसरमा धुनी बाल्ने, मध्यरातिदेखि विशेष पूजा गर्ने र आज बिहान ४ बजे साधुसन्तका लागि पूजाको व्यवस्था गरिएको उनले जानकारी दिए ।
महाशिवरात्रिको अबसरमा आशापुरीमा पनि २५ हजारभन्दा बढी, साँगाको अग्लो कैलाशनाथ महादेवमा करिब १४ हजारले दर्शन तथा पूजा गरेका थिए भने सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं ५ स्थित अनन्तलिङ्गेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नम्बर १० चित्तपोल साँगास्थित कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिर, नंखेलको नन्दिकेश्वर महादेश मन्दिर, चाँगुनारायणस्थित मच्छेनारायण मन्दिरको सँगैको महादेश मन्दिर, मध्यपुरथिमि राधेराधे सङ्गम कोलोनीको सङ्गमेश्वर महादेवमा पनि साँझसम्मै भीड लागेको थियो ।
यसैगरी, शिवरात्रि पर्वका लागि यो वर्ष डोलेश्वर आउने साधुबाबाहरूलाई ‘क’, ‘ख’ र ‘ग’ तिन वर्गमा विभाजन गरी दक्षिणा एवं धोती र कम्बल दिएर बिहीबार बिहान ११ बजे भोजन गराई बिदा गरिने कार्यक्रम रहेको जनाईएको छ ।





