काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ । ‘वुमन इन मोसन-एक्सलेरेट एक्सन’ भन्ने नारासाथ महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना गरिएको बैंकले जनाएको छ ।
बैंकको केन्द्रीय कार्यालयमा वाकाथनको सुरुवात गर्दैै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले बैंकले महिलाहरूलाई प्राथमिकता दिएको बताउनुभयो । बैंकका विभिन्न विभागमा महिलाले नेतृत्व गरिरहेको उल्लेख गर्दै उहाँले बैंकको विकासमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले आजमात्रै नभई मार्च महिनाभरि नै विभिन्न कार्यक्रम गरी महिला दिवस मनाउन गइरहेको जानकारी दिनुभयो । ढुंगानाले भन्नुभयो, ‘महिलाहरू पनि नेतृत्वका लागि अगाडि आउन जरुरी छ, त्यसका लागि बैंक विभिन्न क्षेत्रमा अवसर उपलब्ध गराउन सदैव तयार छ ।’
बैंकका अनुसार दिवसका अवसरमा विभिन्न १२ स्थानबाट एकैसाथ वाकाथन सुरु गरिएको थियो । काठमाडौं, विराटनगर, बिर्तामोड, जनकपुर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, तुलसीपुर, सुर्खेत, धनगढी, बुटवल र नारायणगढमा भएको वाकाथनमा बैंकमा कार्यरत १२ सयभन्दा बढी कर्मचारीको सहभागिता थियो । कार्यक्रमले लैंगिक समानताका पक्षमा सन्देश प्रवाह गर्दै समावेशी समाज निर्माणमा सकारात्मक परिवर्तन ल्याउने बैंकको विश्वास रहेको छ । पुरुषको सहभागितासँगै हिँड्नुमात्रै नभई समाजमा व्याप्त पुरानो सोच र विभेद अन्त्यका लागि पनि जरुरी रहेको वाकाथनमा सहभागीहरूले बताएका थिए ।
(हिमालय टाईम्स)




