काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषले देशको अर्थतन्त्रमा योगदान पुर्याउने कार्य गर्नुपर्ने बताउनुभएको छ । कोषको सोमबार आयोजित ३५औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले कोषले आफूसँग रहेको रकम नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता र उत्पादनशील क्षेत्रमा प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउनुपर्ने बताउनुभएको हो । आमनागरिकलाई कसरी कोषमा आबद्ध गराउने भन्नेतर्फ कोषले काम गर्नुपर्ने भन्दै उहाँले सामाजिक सुरक्षाको क्षेत्रमा कोषले थप कार्य गर्नुपर्ने बताउनुभयो ।
दुर्ई करोड ४४ लाख चुक्ता पुँजीबाट सुरु भएको कोषको अहिले चुक्ता पुँजी छ अर्ब ४८ करोड १७ लाख पुगेको छ ।
कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सूर्यबहादुर थापाले उच्च आर्थिक विकासमार्फत् मात्रै समाजमा देखिएको विद्यमान बेरोजगारी अन्त्य गर्न सकिने भन्दै दिगो विकास र स्थायित्वमा जोड दिनुभयो । आगामी दिनमा देशको आर्थिक वृद्धिदरमा टेवा पुर्याउने एवं रोजगारी सिर्जना गर्न कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा आफ्नो लगानी विस्तार गर्दै लैजानुपर्ने उहाँको भनाइ थियो । कोष स्थापनादेखि नै निरन्तर नाफामा सञ्चालन भइरहनु, प्रत्येक वर्ष सहभागी संख्या वृद्धि गर्न सफल हुनु र फरक-फरक किसिमका बचत योजना सफलतापूर्वक सञ्चालनमा ल्याउन सक्नु नै कोषको सफलताको आधार भएको थापाले दाबी गर्नुभयो ।
कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले दुई करोड ४४ लाख चुक्ता पुँजीबाट सुरु भएको कोषको अहिले चुक्ता पुँजी छ अर्ब ४८ करोड १७ लाख पुगेको जानकारी दिनुभयो । कोषमा आबद्ध करिब सात लाख सहभागीलाई ध्यानमा राखेर सरल र झन्झटरहित सेवा र कोषको हिसाबकिताब चुस्त दुरुस्त राख्न अटोमेसन र डिजिटलाइजेसनलाई कोषले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो । कोषले लगानी विविधिकरणमा सघाउ पुग्ने गरी कर्जा नीति र लगानी नीतिमा केही परिमार्जन गरेको र आवश्यकताअनुसार थप परिमार्जन गर्दै आगामी दिनमा सरकारी प्राथमिकताका पूर्वाधार निर्माण, कृषि, उद्योग, पर्यटन तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न एवं पुँजी बजारको विकासमा थप सक्रिय हुने गरी कोषले कार्य गर्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षको पुससम्म कोषको वित्तीय स्रोत दुई खर्ब ७३ अर्ब रहेकोमा मुद्दती निक्षेप, नेपाल सरकारको ऋणपत्र, समयकालीन कर्जा, सहायक कम्पनी, सहभागी सापटी तथा आवास कर्जा, ट्रेजरी बिल एवं संगठित संस्थाको सेयर/धितोपत्र लगायतमा दुई खर्ब ६४ अर्ब रुपैयाँ लगानी रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोषलगायतका कोषहरूको लगानी उत्पादनमूलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनुभयो । त्यस्ता कोषहरूको लगानी पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन, हाइड्रोपावरलगायतका क्षेत्रमा गर्नुपर्नेमा उहाँको जोड थियोे । ढकालले लगानी कोषको ठूलो रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको भन्दै सोको उपयोग रोजगारी सिर्जना, विकास निर्माणका क्षेत्रमा गर्नुपर्ने बताउनुभयो । कोषहरूको करिब ५२ प्रतिशतभन्दा बढी रकम बैंक तथा वित्तीय संस्थामा फिक्स डिपोजिटका रूपमा रहेको भन्दै ढकालले त्यसको उपयोग रोजगारी सिर्जना, विकास निर्माणका क्षेत्रमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘करिब दुई खर्ब ७० अर्बको हाराहारीमा कोषको फण्ड रहेछ । त्यसैगरी एसएसएफको कुरा गर्दा एक खर्बजति छ । सञ्चय कोषको पनि त्यति नै ठूलो फण्ड छ, खासगरी रोजगारी सिर्जना, पूर्वाधार बनाउने कुराहरू, आम पब्लिकलाई सर्भिस दिने कुराको त्यत्तिकै खाँचो छ । यो फण्ड प्रयोग गर्न सकिरहेका छैनौं । एउटा मेरिट बेसिसमा सर्टेन्ज प्रसेन्टेज पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन, हाइड्रोपावरलगायत कतिपय फण्ड सरकार मातहतका कम्पनीहरूमा सुरु भइसकेको छ । निजी क्षेत्रको प्रोजेक्टमा पनि लगानी गर्नुपर्छ ।’
कोषका पूर्वअध्यक्ष डा. भोजराज घिमिरेले कम जनशक्तिले दुई सय ७३ अर्ब रुपैयाँको फण्ड सञ्चालन गर्नु ठूलो उपलब्धि भएको बताउनुभयो भने नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष अच्युतम पौडेल र नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष नेत्रविक्रम थापाले कोषसँग सम्बन्धित विषयहरूलाई सम्बोधन गर्न कोष व्यवस्थापन र नेपाल सरकारसँग आग्रह गर्नुभएको थियो ।




