काठमाडौं । पाँचौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८१ का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करणका लागि आवेदन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको पाँचौं संस्करणको अवार्डका लागि आवेदन आहृवान गरिएको थियो ।
यस संस्करणको अवार्ड यही चैत १२ (२५ मार्च)मा थाइल्याण्डमा एक विशेष समारोहबीच हुन गइरहेको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउनुभयो । अवार्डमा आधुनिक, पप, लोकदोहोरी गीतलगायतलाई समावेश गरिएको छ । अवार्ड समारोह बैंककमा जान असमर्थ हुने स्रष्टा स्रजकलाई काठमाडौंमा विशेष समारोहबीच अवार्ड प्रदान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराउनुभयो ।
अवार्ड समारोहमा नेपाली गीत संगीतमा विगत लामो समयदेखि योगदान पुर्याउनुभएका विशिष्ट गायक खड्ग गर्बुजालाई दीर्घ साधना सम्मान अर्पण गरिने भएको छ । साथै गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने संगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अध्यक्ष सुवेदीले जानकारी गराउनुभयो । यसअघि दीर्घ साधना सम्मान वरिष्ठ संगीतकार राजु सिंह, स्व. गुरुदेव कामद, वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाह र वरिष्ठ गायिका ज्ञानु राणालार्ई प्रदान गरिएको थियो ।