काठमाडौं । युरोपेली संघका सदस्य राष्ट्रले रुसी प्राकृतिक ग्यासको आयातलाई चरणबद्ध रूपमा बन्द गर्ने प्रस्तावमा सहमति जनाएका छन् । यो निर्णय सन् २०२२ मा सुरू गरिएको ’रीपावर युरोप’ रणनीतिको महत्वपूर्ण अङ्ग हो, जसको उद्देश्य रुसमा हुने इन्धन निर्भरतालाई समाप्त गर्दै वैकल्पिक तथा स्वदेशी ऊर्जातर्फ संक्रमण गर्नु हो ।
यस प्रस्तावअनुसार सन् २०२६ जनवरी १ बाट नयाँ रुसी ग्यास आयातमा पूर्ण प्रतिबन्ध लाग्ने छ । यद्यपि, पहिल्यै भएका सम्झौतालाई केही समयका लागि जारी राख्न अनुमति दिइने छ । छोटो अवधिका सम्झौता सन् २०२६ जुन १७ सम्म र दीर्घकालीन सम्झौता सन् २०२८ जनवरी १ सम्म मान्य रहने छन् ।
ऊर्जा क्षेत्रको पारदर्शिता बढाउन, ग्यास आयात गर्ने कम्पनीले ग्यासको स्रोत, सम्झौताको अवधि लगायतका विवरण अनिवार्यरूपमा सार्वजनिक गर्नु पर्ने छ । यद्यपि, हङ्गेरीका विदेशमन्त्री पिटर सिज्जार्टोले उक्त प्रस्तावको विरोध जनाउँदै यसले युरोपेली मुलुकको ऊर्जा सुरक्षामा गम्भीर संकट निम्त्याउने बताएका छन् ।
उहाँले ऊर्जा जस्तो महत्वपूर्ण विषयलाई राजनीतिक एजेन्डामा परिणत गर्नु उचित नहुने स्पष्ट पार्नुभयो । हाल युरोपेली संघमा रुसबाट करिब १३ प्रतिशत प्राकृतिक ग्यास आयात हुने गरेको छ, जसको वार्षिक मूल्य लगभग १५ अर्ब युरो (अन्दाजी १७.५ अर्ब अमेरिकी डलर) बराबर छ ।
उक्त प्रस्ताव कानुनीरूपमा लागू हुनु अघि युरोपेली संसदमा छलफल र स्वीकृति आवश्यक पर्ने छ । स्वीकृत भएपछि मात्र यो नियम कार्यान्वयनमा आउने छ र यसले युरोपेली संघको दीर्घकालीन ऊर्जा नीतिमा एक ऐतिहासिक मोड ल्याउने छ ।
कामदारको भूमिका महत्वपूर्ण
आप्रवासी कामदारको सम्बन्धमा विश्वबजारमा बिबिध कुरा आईरहेको वेला इटालीले भने आप्रवासी कामदारको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । इटालीमा विदेशी उद्यमीको सङ्ख्या बढ्दै गएको र आप्रवासी कामदारले सन् २०२४ मा इटालीको अर्थतन्त्र र जनसाङ्खिकीयमा महत्वपूर्ण भूमिका खेलेका सोमबार जारी गरिएको एक रिपोर्टले देखाएको छ ।
भेनिसस्थित लियोन मोरेसा फाउन्डेसनले गरेको आप्रवासन अर्थतन्त्र सम्बन्धी प्रतिवेदनका अनुसार गत वर्ष विदेशी कामदारले करिब १७७ अर्ब युरो (२०६ अर्ब अमेरिकी डलर) आम्दानी गरेका थिए, जुन इटालीको कुल गार्हस्थ्य उत्पादनको नौ प्रतिशत बराबर हो । इटालीमा रहेका ५४ लाख विदेशी बासिन्दा मध्ये सन् २०२४ मा २५ लाख विदेशबाट आएका कामदार रहेका र यो राष्ट्रिय श्रमशक्तिको १०.५ प्रतिशत हो ।(सिन्ह्वा)




