काठमाडौं । देशका धेरै स्थानमा शुक्रबार (चैत ८) र शनिबार (चैत ९) वर्षा भएको छ । हिमाली तथा उच्च पहाडी भूभाग कतैकतै हिमपात पनि भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार (चैत १०) पनि देशका केही भूभागमा वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । कोसी र वाग्मती प्रदेशमा वर्षाको सम्भावना बढी रहेको उनले बताए ।
“आइतबार दिउँसो कोसी र वाग्मती प्रदेशका केही र गण्डकी र मधेस प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ,” उनले बताएका छन् ।
आइतबार बिहान मौसम खुल्ने र दिउँसो पुनः बदली (आकाशमा बादल)/वर्षा हुने उनले बताए । हाल प्रिमनसुन अवधि हो । यो अवधिमा बिहानको समयमा घाम लाग्ने र अपराह्नमा पानी पर्ने सम्भावना हुने उनले स्पष्ट पारे ।
“बिहान घाम लाग्ने, मौसम खुल्ने, दिउँसो १/२ बजेपछि बादल बढ्दै जाने र मेघगर्जन (बिजुली चम्किनु)/चट्याङसहित वर्षा हुने, असिनापानी पर्ने, हावाहुरी चल्ने हुन्छ,” उनले भने । विशेष गरी कोसी र वाग्मती प्रदेशमा आइतबार यस्तै मौसम हुने उनले बताए ।
प्रिमनसुन अवधिमा दिउँसोको समयमा स्थानीय वायु सक्रिय भएर कतैकतै पानी पर्ने सम्भावना रहने उनले जानकारी दिए ।
आइतबार काठमाडौंमा पनि हल्का वर्षाको सम्भावना छ । दिउँसोको समयमा करिब शनिबारकै जस्तो मौसम हुने उनले बताए ।
पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशमा वर्षा भएको हो । बादल/वर्षा/हिमपातसँगै देशभरकै तापक्रम थोरै घटेको महाशाखाले जनाएको छ ।
आइतबारै बेलुकाबाट यो प्रणाली कमजोर हुँदै जानेछ । कोसी प्रदेशका पहाडी भूभागमा भने यसको प्रभाव सोमबार (चैत ११) दिउँसोसम्म रहने महाशाखाको पूर्वानुमान छ । “भोलि (आइतबार) बेलुकाबाट प्रणाली कमजोर हुँदै जानेछ,” उनले भने, “यसबाहेक तत्काल तीन दिनलाई अर्को प्रणाली छैन ।”
झापामा सबैभन्दा बढी वर्षा
पछिल्लो २४ घण्टा (शनिबार बेलुका ७ बजेसम्म)मा झापामा सबैभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको रेकर्ड छ । यो अवधिमा झापाको चन्द्रगढीमा ४६.८ मिलिमिटर वर्षा मापन गरिएको छ ।
यस्तै, चितवनको शक्तिखोरमा ३५.८, धनकुटाको त्रिवेणीमा ३०.४, दैलेखमा ३०.२ मिलिमिटर वर्षा भएको छ । पूर्व र मध्य क्षेत्रका धेरै स्थानमा वर्षा भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा वर्षा भएको विभागले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंका धाम ड्याम क्षेत्र, सुन्दरीजल, साँखु, कीर्तिपुरलगायत स्थानमा वर्षा भएको मौसमविद् पुडासैनीले जानकारी दिए ।




