काठमाडौं । पर्यटकीय राजधानी पोखराको पोखरा-लेखनाथ महानगरपालिका–१७ मा आयोजना हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पूजन आज बैशाख ३ गते, बुधवार बिहान गरिने भएको छ।
मानव सेवा फाउण्डेसन नेपालद्वारा आयोजित उक्त महायज्ञको पूर्वसन्ध्यामा चैत्र १७ गतेदेखि नै विविध धार्मिक कार्यक्रमहरू जारी छन्। यसै क्रममा, चैत्र २९ गतेदेखि नेपालकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयले श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी छन्।
बैशाख ३ गते, आजको भूमी पूजनसँगै मूल यज्ञ कुण्ड खन्ने साइतसमेत रहेको जानकारी आयोजकले दिएका छ। यस अवसरमा आयोजकले सम्पूर्ण भक्तजनहरुलाई कार्यक्रममा उपस्थित भई पुण्य प्राप्त गर्न आग्रह गरेको छ।
यस विराट धार्मिक कार्यक्रमले आध्यात्मिक चेतनाको अभिवृद्धिसँगै सामाजिक एकता तथा सेवा भावलाई समेत बलियो बनाउने विश्वास लिइएको छ।




