काठमाडौं । नेपालले एएफसी यू-१७ एसियन महिला कप फुटबलको छनोट चरणमा समूह ‘एफ’मा स्थान पाएको छ । एएफसीले बिहीबार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले थाइल्याण्ड र तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
छनोट चरण आगामी अक्टोबर १३ देखि १७ सम्म सञ्चालन हुनेछ । प्रतियोगिता सिंगल राउण्ड रोबिन प्रणालीमा खेलाइनेछ । एएफसीले २७ राष्ट्रलाई सात समूहमा विभाजन गर्दै तालिका सार्वजनिक गरेको हो ।
Advertisement
प्रत्येक समूहको विजेता दोस्रो चरण अर्थात् छनोटको अन्तिम चरणमा प्रवेश गर्नेछन् । यसअघि नै आयोजक चीनसहित दक्षिण कोरिया, जापान र उत्तर कोरियाले अन्तिम चरणमा स्थान सुरक्षित गरिसकेका छन् । छनोटको अन्तिम चरण सन् २०२६ को अप्रिल ३० देखि मे १७ सम्म चीनमै आयोजना गरिनेछ ।




