काठमाडौँ । सरकारले आफ्ना माग पुरा नगरेको भन्दै नेपाल शिक्षक महासङ्घले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पटक-पटक गरेको सहमतीमा सरकारले सम्बोधन नगरेको भन्दै आफ्ना माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
आज शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासङ्घले अबको आन्दोलन विगतको भन्दा कडा र सशक्त हुने चेतावनी दिएको छ।
महासंघका अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ भने भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ।
भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।
उनका अनुसार भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र अवधारणात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने तयारी भएको छ।
महासङ्घले शिक्षा समितिबाट पारित भएको विधेयक आफूहरूको असन्तुष्टिको बाबजुद पारित गरेको आरोप लगाएको छ। प्रस्तावित शिक्षा विधेयक शिक्षकविरोधी र सहमतिअनुसार नभएको भन्दै विधेयक तत्काल फिर्ता गर्न माग गरेको छ।
समितिबाट पारित भएको विधेयकमा महासंघले उठाएको आंशिक मागहरूमात्र पूरा भएको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन्।
मुख्य विषय हल नभएको बताउँदै उनले आफूहरूले राखेको मुद्दा संशोधन हुनेमा आशावादी रहेको उनले बताइन्। उनले फेरि यो सरकारले आन्दोलन गर्न बाध्य बनाएको उनको आरोप छ। स्मरण रहोस्, यो तेस्स्रो ठुलो आन्दोलन हो ।




