काठमाडौं । विश्वकप छनोटको खेलमा स्पेनले जर्जियालाई हराएको छ । छनोटको युरोपेली समूह ‘ई’ अन्तर्गत घरेलु मैदानमा भएको खेलमा स्पेनले जर्जियालाई २-० ले पराजित गरेको हो । विजयसँगै स्पेन समूहको शीर्ष स्थानमा कायमै छ । स्पेनलाई जिताउन जेरेमी पिनो र मिकेल वार्जाबालले एक/एक गोल गर्नुभयो । पहिलो हाफमा पिनोले अग्रता दिलाउनुभएको थियो भने दोस्रो हाफमा वार्जाबालले अग्रता दोब्बर पार्नुभयो ।
छनोटकै अर्को खेलमा तुर्कीले बुल्गेरियालाई ६-१ को फराकिलो अन्तरले हरायो । रियल मड्रिडका मिडफिल्डर आर्दा गुलेरले एक गोल र दुई असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गर्नुभयो । युभेन्ट्सका युवा फरवार्ड केनान येल्दिजले दुई गोल गर्दा मेह्मेत चेलिक र इरफान कह्वेचीले पनि गोल गर्नुभयो । बुल्गेरियाका भिक्टर पोपभले आत्मघाती गोल गर्दा एकमात्र गोल राडोस्लाभ किरिलभले गर्नुभयो ।
सोफियाको भासिल लेभेस्की नेसनल स्टेडियममा तुर्कीले पहिलो मिनेटमै गुलेरको गोलबाट अग्रता लिएको थियो । दुई मिनेटपछि बुल्गेरियाका किरिलभले बराबरी गोल गर्नुभयो । पहिलो हाफ १-१ को बराबरीमा सकिए पनि दोस्रो हाफमा तुर्कीको आक्रमण सुरु भएको थियो । चार मिनेटमा पोपभको आत्मघाती गोलमा तुर्की अघि बढ्यो ।
गुलेरको पासमा येल्दिजले थप दुई गोल गर्नुभयो । ६५औँ मिनेटमा चेलिकले थप गोल गर्नुभयो । यस जितपछि पनि तुर्की समूहमा दोस्रो स्थानमै छ । तीन खेलमा ६ अंक जोडेको छ, जबकि स्पेन शीर्ष स्थानमा नौ अंकसहित छ ।
(एजेन्सी)