काठमाडौं । मैथिली विकास कोषले भाइ–बहिनीको प्रेम र सद्भावको प्रतीक मानिने सामा–चकेवा पर्वको अवसरमा आगामी आइतबार सामा–चकेवा खेल प्रतियोगिताको आयोजना गर्न लागेको छ। छठ पर्वको खरना दिनदेखि सुरु हुने यो पर्वको सांस्कृतिक महत्व जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कोषले जनाएको हो।
सांस्कृतिक संरक्षणसँगै समुदायबीचको एकता प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजक पक्षले बताएको छ। प्रतियोगितामा विजेताहरूका लागि पुरस्कारको समेत व्यवस्था गरिएको कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिनुभयो।
गत वर्ष पनि कोषले सामा प्रतियोगिता आयोजना गरेको थियो। चौधरीका अनुसार यस प्रकारका कार्यक्रमले लोपोन्मुख मैथिली संस्कृति जगेर्ना तथा प्रवर्द्धन गर्ने अवसर प्रदान गर्ने भएकाले कार्यक्रमलाई निरन्तरता दिइएको हो।
मिथिला क्षेत्रमा विगतमा अत्यन्त उल्लासका साथ खेलिने सामा–चकेवा पर्व पछिल्ला वर्षहरूमा धमिलो बन्दै गएको छ। प्रत्येक टोल–टोलमा खेलिने सामा खेल अब छिटफुट रूपमा मात्र खेलिन थालेको भन्दै स्थानीयवासी र संस्कृति अभिभावकहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। कोषले यस्तो परम्परा जोगाउन सामुदायिक सहभागिता बढाउने अपेक्षा लिएको छ।
महायज्ञमा ७० लाख दान सङ्कलन
आँबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरी बूढीमाई मन्दिरको बृहत्तर विकासका लागि सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञको पाँचौं दिन बुधबार १७ लाख दान सङ्कलन भएको छ ।
आँबुखैरेनी-३ मा सञ्चालित महायज्ञमा उक्त दिन १७ लाख दान सङ्कलन भएको महायज्ञ मूलसमारोह समितिका आर्थिक संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ७० लाख सङ्कलन भएको छ ।
जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी बूढीमाई क्षेत्रको विकासका लागि रकम सङ्कलन गर्ने उद्देश्यसहित सुरु भएको महायज्ञ यही कात्तिक १५ गतेसम्म चल्ने छ । महायज्ञबाट दश करोड आर्थिक सङ्कलन गर्ने लक्ष्य राखिएको छ, भने करिब ५० लाख खर्च हुने अनुमान छ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोख्रेलले कथा वाचन गर्नुभएको छ ।
गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइँली गोरखकालीमाई, काइँली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।
छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रेलगायतका हिमाल हेर्न सकिन्छ । महाभारत शृङ्खलाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने योजना गाउँपालिकाको छ । छिम्केश्वरीमा हाल वार्षिकरुपमा एक लाख पर्यटक आउने गरेका छन् । विशेषगरी यहाँ फागुपूर्णिमा, वैशाख १ गतेको नयाँ वर्ष लगायतका बेला यहाँ पर्यटकको ठूलो भीड लाग्ने गरेको छ । त्यसका अलवा दैनिकरुपमा पनि यहाँ पर्यटकको आगमन बढिरहेको छ ।




