काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत चार जना सचिवको सरुवा गर्दै विभिन्न मन्त्रालय तथा निकायमा नयाँ जिम्मेवारी तोकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रबिलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । राष्ट्रिय योजना आयोगमा कार्यरत सचिव गोकर्णमणि दुवाडी मंगलबारदेखि पाँच वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा गएपछि आयोगमा सचिव पद रिक्त भएको थियो । उक्त रिक्त स्थानमा पन्थलाई पठाइएको हो ।
यसैबीच कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । साथै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल मुख्यसचिवमा बढुवा भएपछि मन्त्रालयमा सचिव पद रिक्त भएको थियो । यस्तै, रिक्त बनेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मधेश प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेलको सरुवा गरिएको छ ।




