काठमाडौँ । सरकारले लुम्बिनी विकास कोषको सदस्य–सचिव पदमा गोरखाका दीपक श्रेष्ठलाई मनोनीत गरेको छ।
मन्त्रिपरिषद्ले ४६ वर्षीय श्रेष्ठलाई सदस्य सचिवमा मनोनित गरेपछि प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले धार्मिक संस्थामा धर्मको हेक्का राखेर काम गर्न निर्देशन दिएकी छन्।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईँलाई सरकारले विश्वास गरेर जुन जिम्मेवारी दिएको छ, इमानदारीसाथ त्यो पूरा गर्नुहोला। त्यो (लुम्बिनी) धार्मिक संस्था हो, धर्मको हेक्का राखेर काम गर्नुहोला। तपाईँको अहिलेको कामले भविष्यमा तपाईँका सन्ततिले पनि शिर ठाडो पारेर हिँड्न सकून्। गौरव गर्न सकून्।’
सदस्य–सचिव श्रेष्ठले पनि उक्त संस्था र पदको गरिमामा आँच आउन नदिने गरी इमानदारीसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गोरखाको सहिद लखन गाउँपालिका–६ का श्रेष्ठले इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनमा १७ वर्षको अनुभव सँगालेका छन्।




