लवहरी बुढाथोकी, मन्थली । आउंँदै गरेको संघीय तथा प्रादेशिक निर्वाचनमा उम्मेदवारहरुले आ आफनो क्षेत्र र त्यहाँंको भूगोल अनि अवस्थिति अनुसार जनता सामु यसो गर्छु र उसो गर्छु भन्ने प्रतिबद्धता जनाउने वाचा गरिरहेका छन् ।
हुन पनि यो एक अवसर हो आफ्ना मतदाताहरुसँग विगतका कामको सफलताको समीक्षा गर्ने अनि आगामी दिनमा त्यस क्षेत्रमा गर्न सकिने सामाजिक, शैक्षिक, स्वास्थ्य, कृषि, पर्यटकीय, धार्मिक सांस्कृतिक र पूर्वाधारका कार्यहरुबारे गर्न सकिने ठूला, मझौला र साना आयोजनाका कार्यहरु सम्बन्धमा योजना वनाउनु प्रतिबद्धता जनाउनु ।
यसैगरी रामेछाप प्रदेश ‘ख’ नेकपा एमालेबाट उम्मेदवार बन्नु भएका सामाजिक राजनीतिक अभियन्ता मिलन कुमार घिसिङ आफ्नो दुई दशक लामो समय जिल्लाका कुनाकाप्चामा सामुदायिक विकास सम्बन्धी अभ्यास गरेका अनुभवलाई राजनैतिक नेतृत्वमा अर्थपूर्ण रहने संसदीय प्रतिनिधित्वमार्फत नीतिगत व्यवस्थापन र उचित श्रोतको बाँडफाँड र परिचालनको माध्यमबाट सन्तुलित विकास गर्ने दृढ ईच्छा शक्तिकासाथ अघि बढ्नुभएका एक अव्वल विकासका अनुभवी नेता हुनुहुन्छ ।
आफ्नो उम्मेदवारीको लक्ष्य, उद्धेश्य जनताका आधारभूत आवश्यकताहरु पूरा गर्ने, हत्या हिंसारहित समाजको निर्माण, दिगो अर्थिक विकासका आधार तय गर्ने, कृषि उत्पादनलाई व्यवसायीकरण एवं बजारीकरण, गरिबी असमानता र भेदभावको अन्त्य गर्ने, राष्ट्र र राष्ट्रियता जोगाउँंदै, रक्षा गर्दै समृद्ध नेपाल र सुखी नेपालीको अभियान साकार पार्ने अठोट रहेको वारेमा उम्मेदवार घिसिङले वताउनु भएको छ ।
कान्तिपथ अनलाईन रामेछापका प्रतिनिधिसँगको कुराकानीका क्रममा उम्मेदवार घिसिङले रामेछाप जिल्लामा रहेको कृषि र पर्यटन व्यवसायलाई भूगोल अनुसार माटोका परीक्षण गर्दै सोको उपचार र अवस्था अनुसार कृषिलाई व्यवसयिक उत्पादनमा जोड दिने उहाँको योजना छ ।
सम्भावित पर्यटकीय क्षेत्रहरु जस्तै शैलुङ, दोरम्भा, खांडादेवी, सुनापातीडांडा, पशुपती, थानापती, अग्लेश्वर, डोलेश्वर, चिसापानी गढी, गजपानी, जालपादेवी, तामाकोशी तटीय क्षेत्र, बेनीघाट, पोखरी चियावगान जस्ता स्थलहरुको आवश्यकता पहिचान गरी सबैको विस्तृत गुरुयोजनासहित युवाहरुको सहभागितामा जिल्लाभित्रै स्वरोजगार उत्पन्न हुनेगरी दिगो विकास अनि आत्मनिर्भरमूलक समुदाय निर्माणमा लाग्ने प्रतिबद्धता रहेको बताउनुभएको छ ।





