चरिकोट : नेकपा एमाले दोलखाका प्रतिनिधिसभा उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ९२ वर्षीय वृद्धाले विजयको शुभकामना दिनुभएको छ ।
उम्मेदवार शिवाकोटीसहितको टोलीले आज भीमेश्वर नगरपालिकाको वडा नं. ७ उखुबारीमा गरेको घरदैलोका क्रममा ९२ वर्षीया इन्दिरादेवी कार्कीले माला लगाएर विजयका लागि आशीर्वाद दिनुभयो ।
उहाँले बूढाबूढीलाई सम्मान गर्ने तथा वृद्धभत्ता सुरु गर्ने पार्टी नेकपा एमाले भएको कारण एमालेले जित हासिल गर्नुपर्ने बताउनुभयो ।
भेटघाटका क्रममा स्थानीयले विद्यालयमा दरबन्दीअनुसारका शिक्षक हुनुपर्ने, स्थानीय सडकहरुलाई वजेट व्यवस्था गरिनुपर्ने लगायतका सवाल उठाएका थिए ।
स्थानीयका सवालहरु सम्बोधन हुने उम्मेदवार शिवाकोटीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर दोलखामा उम्मेदवारहरुले घरदैलो तथा भेटघाटलाई तीव्र बनाएका छन् ।
जिल्लाका गाउँटोलमा अहिले अगुवा कार्यकर्ता प्रशिक्षण, घरदैलो, भेटघाट लगायतका गतिविधिहरु भइरहेका छन् ।
घरदैलो अभियानमा उम्मेदवार शिवाकोटी, एमाले दोलखा उपाध्यक्ष एवं भीमेश्वर नगरपालिका निर्वाचन कमाण्डर राजेन्द्र मानन्धर, निर्वाचन कानुनी परामर्श र व्यवस्थापन समिति संयोजक कृष्ण बस्नेत लगायतको सहभागिता रहेको पत्रकार फुर्वा तामाङले जानकारी दिनुभयो ।




