काठमाडौं।
सत्तारुढ गठबन्धनबाट दोलखाको प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका माओवादी केन्द्रका नेता गंगा कार्की फरार अभियुक्तको सूचीमा रहेको तथ्य फेला परेको छ ।
सरकारी धनमाल लुटपाट गरेको अभियोगमा प्रहरीले कार्कीलाई फरार सूचीमा राख्दै पक्राउ पूर्जी जारी गरेको थियो । दोलखा सदरमुकाम चरिकोटस्थित सडक विभाग कार्यालयबाट ठूलो मात्रामा डेटोनेटर, फ्यूज र जिलेटिन लुटपाट गरेको अभियोगमा उनी बिरुद्ध ०७६ मै पक्राउ पूर्जी जारी भएको प्रहरीको रेकर्डमा देखिएको छ ।
तीन वर्षअघि नै पक्राउ पूर्जी जारी भएपनि शक्तिकेन्द्रको आडमा कार्की पक्राउ नपरेका हुन् । प्रहरीको वान्टेड सूचीमा रहेका कार्की भने मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा चुनावी अभियानमा व्यस्त छन् ।
सडक निर्माणका लागि प्रयोग गर्न राखिएको ४२ हजार ७ सय डिटोनेटर, तीन क्विन्टल फ्यूज र ३ वाकस जिलेटिन चोरी काण्ड कार्कीको नेतृत्वमा भएको अभियोग छ । २०५२ साल माघ २ गते अर्थात तत्कालीन माओवादीले सशस्त्र युद्ध सुरु गरेको करिब एक महिना अघि उक्त घट्ना भएको थियो ।
प्रहरीका अनुसार उक्त घटनामा कार्कीसँगै पूर्णबहादुर खड्का, हेमबहादुर श्रेष्ठ, रितबहादुर खड्का र शंकर लामा संलग्न थिए । तीमध्ये खड्का र श्रेष्ठलाई ०५३ को जेठमै प्रहरीले पक्राउ गर्यो । दुवैले दश बर्ष कैद सजाय भुक्तान गरेका छन् । रितबहादुरले भूमिगतकालमै ज्यान गुमाए ।
अभियुक्त मध्येका कार्की र लामा बिरुद्धको मुद्धा व्यूँताउँदै प्रहरीले ०७६ सालमा उनीहरु बिरुद्ध पुनः पक्राउ पूर्जी जारी गरेको थियो । तर, शक्तिकेन्द्रको संरक्षणका कारण प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकेन । जुँगुस्थित निवासमै पुगेर प्रहरीले कार्कीको खोजतलास गरेको थियो ।
यद्यपि, वृहत शान्ति सम्झौता भएसँगै द्वन्द्वकालीन मुद्दा खारेज भएको माओवादी केन्द्रका नेताहरुको दावी छ । द्वन्द्वकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत टुंगो लगाउने भनिएपनि त्यसले गति लिन सकेको छैन ।
जबकि घटना हिंसात्मक द्वन्द्वअघिकै हो । प्रहरीसहित सरकारी निकायहरुको भनाई पनि उक्त घट्ना जनयुद्ध सुरु हुनु अघि नै भएका कारण शान्ति सम्झौताभित्र पर्दैन । स्रोत भन्छ, ‘शान्ति सम्झौताबाट खारेज भएका मुद्दा १ फागुन ०५२ यताका मात्रै हुन् । त्यस अघिका कुनै पनि मुद्दा खारेज भएका होइनन् । तर त्यो घट्ना द्वन्द्व सुरु हुनुभन्दा २८ दिन अघिको हो ।’
०७४ को स्थानीय तह निर्वाचनमा गौरीशंकर गाउँपालिकाको जुँगुमा भएको एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्याको घटनामा कार्की मुछिएका थिए ।
त्यसबेलाको स्थानीय तह निर्वाचनमा माओवादी–काँग्रेसबीच नै चुनावी गठबन्धन भएको थियो । चुनावी प्रचारप्रसारकै क्रममा एमाले कार्यकतामाथि गठबन्धन पक्षधरबाट आक्रमण भएको थियो । घटनामा अन्य थुप्रै स्थानीय युवाहरु घाइते भएका थिए ।
कार्की तत्कालीन माओवादीले बनाएको ‘जनमुक्ति सेना’का पूर्व ब्रिगेड कमाण्डरसमेत थिए । कार्कीको नेतृत्वमा भएको थुप्रै आक्रमणमा दोलखाका दर्जनौं होनहार युवाहरुले अनाहकमै ज्यान गुमाएका थिए ।
जनवाद स्थापना गर्ने हिंसात्मक बाटो परित्याग गरेर माओवादी शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धाको मूल धारको राजनीतिमा आएपछि कार्कीले धेरै समय गाउँमा भन्दा सदरमुकाम चरिकोट र राजधानी काठमाडौंमा बिताए । हिंसात्मक द्वन्द्वमा जीवनकै कुर्वानी गर्ने परिवारसँग कार्कीको सम्वन्ध टुट्यो । तर, टिकटको प्रतिस्पर्धामा रहेकी पोलिटब्यूरो सदस्य तथा पूर्व राज्यमन्त्री देवी खड्का र केन्द्रीय सदस्य तथा युवा नेता विशाल खड्कालाई पछि पारेर उम्मेदवारको मौका पाएपछि भने कार्की अहिले चुनावी अभियानका क्रममा विभिन्न गाउँ पनि पुगे ।
त्यसक्रममा उनीमाथि द्वन्द्वपीडित परिवारले अनेक प्रश्न तेर्स्याए । नाजवाफ बनेर कैयन स्थानबाट जसोतसो उम्किएका कार्कीले जनस्तरबाट अनेक खप्की खानु परिरहेको छ ।
आलम्पुमा ८० वर्षीया सेतीमायाको प्रश्न–मेरो छोरा खोइ ?
नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार गंगा कार्की ‘विश्व’ चुनावी कोणसभा सम्बोधन गर्न गाउँ आउने थाहा पाएपछि दोलखा बिगु गापा–६ आलाम्पुकी ८० वर्षीया सेतीमाया थामी निर्धारित समयमै कार्यक्रमस्थल पुगिन् ।
खादा लगाएका कार्की स्टेजमै थिए । थामीले कार्कीलाई भेट्न हर कोशिस गर्नुभयो । तर, सफल हुनुभएन । कार्यक्रमबीचमै स्टेजबाट उठेर कार्की चौरतर्फ निस्किदा पर्खेर बसेकी सेतीमायाले उहाँलाई बीचबाटोमै समात्नुभयो र छाती पिटेर रुँदै प्रश्न गरिन, ‘मेरो छोरा खोइ ?’ सेतीमाया थप भक्कानिन पुग्नुभयो । कुर्सीमा थचक्क बस्दै फेरि प्रश्न गर्नुभयो, ‘बाबु, मेरो छोरालाई किन सँगै नल्याएको ?’
सेतीमायाको आँसु यतिमै थामिएन । शोकाकुल उहाँ छट्पटाउन थाल्नुभयो । चुनावीसभा एकाएक भावविह्वल बन्यो । यसपछि कार्कीलाई आलाम्पुका स्थानीय थामीले एकाएक घेरा हाले । सबैको अनुहारमा उही प्रश्न दौडिएका देखिन्थे, ‘हाम्रा छोरा खोइ ?’ तर, कार्कीसँग जवाफ थिएन । वातावरण नियन्त्रणबाहिर जाने देखिएपछि बिचमै भाषण छाडेर दोलखा (ख)का उम्मेदवार बर्मा लामा कार्कीनजिक पुग्नुभयो । र, सेतीमायालाई सम्झाउनतिर लागे ।
माओवादी जनयुद्धताका नेता हुन्, कार्की । युद्धताका उहाँ आलाम्पु गइरहन्थे तर शान्ति प्रक्रियापछि कार्की गाउँ जान चटक्कै छाडे । १५ वर्षपछि उम्मेदवार बनेर उहाँ गत साता गाउँ पुगे।
कार्यक्रममा सहभागी मानबहादुरकी आमा सेतीमाया र बुबा सन्तवीर सुरुमा त नाचे तर छोरा गुमाएको पीडाले सेतीमायालाई भित्रभित्रै गाल्न थाल्यो । चुनावी तामझामले उहाँलाई शान्ति दिएन । एकाएक भक्कानिएकी थामी कार्कीलाई प्रश्न गर्न थालिन् ।
जनयुद्धमा मुलुकभरबाट १७ हजारले ज्यान गुमाएका छन् । दोलखाबाट मात्रै १ सय १ को ज्यान गएको थियो । जसमध्ये ३१ जना थामी युवा थिए ।




