दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ३ मा कार्यरत तीन जना कर्मचारीलाई सेवाबाट हटाईएको छ ।
गौरीशंकर गाउँपालिका वडा नम्बर १ मा कार्यरत कार्यालय सहयोगी राधा खड्का (खत्री), गौरीशंकर १ स्थित आधारभूत स्वास्थ्य केन्द्रकी अहेव अप्सरा बुढाथोकी र अनमी सिर्जना खड्कालाई सेवाबाट हटाईएको हो ।
गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले आफूहरुलाई अन्याय र विभेदपूर्ण रुपमा हटाएको भन्दै उनीहरुले आधारभूत स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन् । कर्मचारीहरुले जारी गरेको बिज्ञप्तिमा गाउँपालिकाले आफूहरुमाथि अन्यायपूर्ण निर्णय गरेकाले स्वास्थ्य केन्द्रमा तालाबन्दी गर्नुपरेको उल्लेख गरेका छन् ।
स्वास्थ्य केन्द्रकी अहेव अप्सरा बुढाथोकीले गाउँपालिकाले निर्णय नसच्याएसम्म आन्दोलन गर्ने बताईन् । स्थानीय जनप्रतिनिधिहरुले पूर्वाग्रहका आधारमा लामो समयदेखि काम गर्दै आएका अनुभवी करारका कर्मचारी हटाउन थालेपछि विरोध हुँदै आएको छ ।




