काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारलाई सफल भएको भन्न नमिल्ने बताएका छन् ।
आज काठमाडौंको नक्सालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध गरिएको बृहत् आन्दोलनमा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुने बताएका हुन् ।
लाइनमा रहेका अन्य धेरै काण्डहरु अनुसन्धान भए सरकारको सफलता मान्ने बताउँदै उनले भूटानी शरणार्थी काण्डलाई सरकारले शुरुवात बिन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने बताएका छन् ।
सभापति लामिछानेले भने, ‘एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुन्छ । त्यतिधेरै पनि नलियौं होला । आशावादी हुनुपर्छ । धेरै काण्डहरु लाइनमा छन् । ती काण्डहरु पनि अनुसन्धान हुन् । सरकारले यसलाई शुरुवात बिन्दु मानेको हो भने स्याबास सरकार तर यो रोकिनु भएन । आफ्नो दलको लागि दोषीलाई बचाउने छेक्ने ढाँट्ने नगर्नुस् । नांगिसक्यो अब किन छेक्ने ।’




