काठमाडौ। कुनै समयमा एक अर्काको मुख समेत हेर्न नचाहने प्रमुख दलका शीर्ष नेताको भेटघाट एवं छलफल ह्वातै बढेपछि शंकाको नजरले हेरिनथालिएको छ । नक्कली शरणार्थी प्रकरण अन्तर्गत अनुसन्धान चलिरहेका बेला प्रमुख तीन दलका अध्यक्षबीच पछिल्लो समय दैनिक भेटघाट हुने गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत अनुसन्धान चलिरहँदा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाटलाई लिएर संसदमा प्रश्न उठेको छ । विभिन्न पार्टीका सांसदले सो भेटघाटलाई शंकाको नजरले हेर्दै प्रश्न उठाएका छन् । उता समाजिक सञ्चालमा समेत सर्वसधारणले शंकाको नजरले हेर्दै प्रश्न उठाउँदै भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्ने दबाब दिँदै आएका छन् । सर्वसधारण एवं विभिन्न दल निकटका भ्रातृसंगठनले काठमाडौंसहित देशका विभिन्न ठाउँमा दिनहुँ जसो दबाब जुलुस निकाल्दै भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै संरक्षण नगर्न चेतावनी दिएका छन् । नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डेसहित १२ भन्दा बढी पक्राउ परेका छन् । कतिपय नेताका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको र केही फरार सूचीमा रहेका छन् । आरोपित यिनीहरूका सम्बन्ध शीर्ष नेतासँग छ । खाँण कांग्रेस सभापति देउवा निकट नेता हुन् । फिल्मी शैलीमा पक्राउ परेका खाँणलाई अझै नेपाली कांग्रेस पार्टीले कारबाही गरेको छैन । कारबाही किन नगरेको भन्दै कांग्रेसकै नेताहरूले सडकबाटै देउवासँग प्रश्न गरेका छन् । देउवा निकट भएकै कारण कारबाही नभएको भन्दै इतर समूहका नेताले कारबाही गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।रायमाझी एमाले अध्यक्ष ओली निकटका हुन् । रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनको बचाउँमा ओली उत्रिएका थिए । फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ । एमालेले उनलाई सचिवको पदबाट हालै निलम्बन गरेको छ । यस्तै, एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्धसमेत पक्राउ पुर्जी जारी भएको छ । तर, उनी फरार छन् । सुरुमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटघाट भइरहेको थियो । तर, जब खाँण पक्राउ परेपछि निरन्तर चलिरहेको सो भेटघाटमा कांग्रेस सभापति देउवा समेत थपिए ।आजको राजधानी दैनिकमा समाचार छ।
शीर्ष नेताको भेटघाट शंकाको घेरामा
शीर्ष नेताको भेटघाट शंकाको घेरामा
तपाईको प्रतिक्रिया




