काठमाडौं । सरकारले “जिउँदो शहीद” भनेर चिनिएका मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई राष्ट्रिय शहीद घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । २०६२/०६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका काभ्रेका कायस्थको २८ वैशाखमा निधन भएको थियो ।
लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत मुकेशको ३२ वर्षको उमेरमा निधन भएको थियो । २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा लागेपछि उनलाई पक्षघात भएको थियो । त्यसयता उनी हिँडडुल समेत गर्न सक्दैनथे । गोली लाग्दा मुकेशको उमेर १४ वर्षको मात्र थियो । सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।
२०६२-०६३को १९ दिने जनआन्दोलनको क्रममा वि.स. २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली कञ्चटमा लागेपछि उनलाई पक्षघात भएको थियो । गोलीका कारण अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो । बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते काभ्रेको बनेपामा मिरा कायस्थ र कृष्णमान कायस्थको छोराको रुपमा जन्मिएका थिए । गोली लागेको १७ बर्ष सम्म पनि मुकेश अर्धचेत अवस्थामा थिए ।




