काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र अनुष्का शर्माले सोमबार ट्राफिक जामबाट बच्न आफ्नो कार छाडेर बाइकमा लिफ्ट मागेका थिए। दुवै कलाकारको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त तस्बिर र भिडिओमा अमिताभ र अनुष्का हेलमेट लगाएका छैनन्। न त उनीहरूको चालकले नै हेलमेट लगाएका छन्।
यसैबीच मुम्बई प्रहरीले अमिताभ र अनुष्कालाई कारबाही गर्ने बताइएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले मुम्बई प्रहरीलाई मेन्सन गर्दै दुवै कलाकारविरूद्ध बिना हेलमेट बाइकमा सवार भएको उजुरी दिएका छन्। जसको जवाफमा मुम्बई पुलिसले लेखेका छन्, ‘हामीले यस बारेमा ट्राफिक प्रहरी शाखासँग कुराकानी गरेका छौं।’ “कानुन सबकालागि बराबर” मुम्बई प्रहरीले भनेको छ । सोमबार समयमै पुग्न अमिताभ बच्चनले बाइकमा लिफ्ट मागेको भन्दै तारिफ भएको थियो। तर हेलमेट नलगाएपछि उनी विवादमा तानिएका हुन्।
अभिताभले बाइकमा बसेको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘म उहाँलाई चिन्दिनँ, तर पनि उहाँले मलाई मद्दत गर्नुभयो। पहेँलो टि–सर्ट र क्याप लगाउनु भएको व्यक्तिलाई धन्यवाद।’ अनुष्काले आफ्नो बडिगार्डसँग बाइकमा लिफ्ट मागेकी थिइन्। दुवैजनाले हेलमेट नलगाएपछि सामाजिक सञ्जालमा ट्रोल भएको हो। एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘न म्याडमले हेलमेट लगाउनु भएको छ न उनको बडिगार्डले।’




