काठमाडौं । आज विश्व दूरसञ्चार र सूचना समाज दिवस । नेपाल टेलिकमले विश्व दूरसञ्चार र सूचना समाज दिवसको अबसर पारेर भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल घटाएको छ । अन्तर्राष्टिय दूरसञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल भारी मात्रामा घटाइएको टेलिकमले जनाएको छ ।
२०७९ चैतमा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्रीको भारत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीहरुले रोमिङ महसुल घटाउन माग गरेका थिए । करिब दुई महिनाको गृहकार्य पछी नेपाल टेलिकमले भारत र थाइल्याण्डमा रोमिङ महसुल घटाएको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए ।
नयाँ दररेट अनुसार नेपाल टेलिकमको सिमबाट भारतको कुनै नम्बरमा कल गर्दा अब प्रतिमिनेट सात रुपैयाँ मात्रै शुल्क लाग्नेछ । नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि अब प्रतिमिनेट सात रुपैयाँ नै लाग्ने छ भने एसएमएस गर्दा पनि प्रति एसएमएस सात रुपैयाँ नै लाग्ने छ । यसअघि रोमिङ सेवा लिएर भारतको कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ र एसएमएस गर्दा प्रति एसएमएस २४ रुपैयाँ लाग्ने गरेको थियो । त्यस्तै थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट थाइल्याण्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा अब प्रतिमिनेट ५० रुपैयाँ लाग्ने भएको छ । यसअघि यस्तो सेवा लिंदा प्रतिमिनेट १३५ रुपैयाँ लाग्ने गरेको थियो । त्यसैगरी थाइल्याण्डमा नेपाल टेलिकमको सिममा आएको कल उठाउँमा प्रतिमिनेट ९० रुपैयाँ लाग्दै आएकोमा अब प्रतिमिनेट २५ रुपैयाँ लाग्ने भएको छ । थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट एसएमएस गर्दा प्रति एसएमएस ३४ रुपैयाँ लाग्ने गरेकोमा अब १० रुपैयाँ मात्रै लाग्ने छ । त्यस्तै भारत र थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट डाटा चलाउँदा हाल प्रति एमबी ४० रुपैयाँ लाग्दै आएकोमा अब प्रति एक सय केवीको ४९ पैसा अर्थात प्रति एमबी पाँच रुपैयाँ मात्रै लाग्ने छ ।
दूरसञ्चारको विकासँगै आधुनिक युगमा फोन, मोबाइल र इन्टरनेट नागरिकको पहिलो आवश्यकता भएको छ । यो बिना जीवन कल्पना गर्न गाह्रो भएको छ । ‘सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ नारासहित मनाइने दूरसञ्चार दिवसले सबै नागरिकलाई प्रविधिसँग जोडिने अवसर प्रदान गरेको छ ।नेपाल टेलिकमले विश्व दूरसञ्चार र सूचना समाज दिवसको अबसर पारेर भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल घटाएर आफ्ना ग्राहकलाई बिशेस राहत दिईएको जनाएको छ ।
Advertisement




