काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको पहिलो बैठकमा नै सदस्यहरूबीच भनाभन भएको छ । भुटानी शरणार्थी प्रकरणमा शीर्ष नेता नियमित बैठक बसेर संलग्न ठूला नेतालाई जोगाउने प्रयास गरिरहेको सुन्नमा आएको भन्दै आपत्ती जनाएका थिए, नेमकिपाका सांसद प्रेम सुवालले । त्यसो हो भने अमेरिकाले छोड्दैन भनेपछी समितिको सदस्यहरूले आपत्ति जनाएका थिए । पनामाको उदाहरण दिदै उनले, अमेरिकाले त्यहांको राष्ट्रपतिलाई राष्ट्रपति भवनबाटै उठाएर लगेको उदाहरण प्रस्तुत गर्दै सुवालले भने, ‘अहिले भुटानी शरणार्थी प्रकरणमा हाम्रा शीर्ष नेता दिनहुँ बैठकमा बसिरहेका छन् । आफ्नो मान्छेलाई उन्मुक्ति दिन खोजेको भनेर समाचार आइरहेको छ। दोषीलाई कारबाही गरिएन भने पनामाजस्तै अमेरिकाले तीनैजनालाई उठाएर लान्छ।’
सुवालको भनाइमा जसपाका राजकिशोर यादवले प्रतिवाद गर्दै पत्रपत्रिकामा आएको कुरा बोलेर देशलाई अप्ठ्यारो पार्न नहुने भनेका थिए । “पत्रपत्रिकाबाट आएको आधारमा त्यसरी भन्न पाइँदैन, यो रेकर्डबाट डिलिट गर्नुपर्छ”, कांग्रेसका विमलेन्द्र निधिले भने । अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने भनेपछि सांसद सुवालले “त्यसो हो भने समिति किन चाहियो ?” भनेर प्रतिप्रश्न गरेका थिए। सुवालले मानव अधिकारको विषय जोडिने अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्रीको उपस्थिति नभएकोमा पनि असहमति जनाएका थिए।




