काठमाडौं । नक्कली भुटानी शरणार्थी गिरोहले पटकपटक गृह मन्त्रालयको यो गाडीको नम्बर प्लेट फेरेर पैसा र मान्छे ओसार्ने गरेको प्रमाणित भएको छ । हाल उक्त गाडी प्रहरीको नियन्त्रणमा छ । गिरोहका एक सदस्यले भने टोपबहादुर रायमाझीको गाडी प्रयोग गर्ने गर्थे । नक्कली शरणार्थी प्रकरणमा मुछिएर हाल अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका सानु भण्डारीले आफ्नो बयानमा हालका अख्तियार प्रमूख एवं तत्कालीन गृहसचिव प्रमकुमार राईले आफूसँग साढे २ करोड नगद बुझेको दाबी गरेका छन् । भण्डारीले आफूहरुले राईको गाडीको डिक्कीमा रू २ करोड ३० लाख राखिदिएको बयान दिएका हुन् । राईले आफ्नो गाडीमा पैसा राखिदिन भन्दै थप कुरा तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राईसँग गर्न भनेको भण्डारीको दाबी छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका क्रममा नयां-नयां तथ्य फेला पर्ने क्रम जारी छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास गरेको प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण लगायतका अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । तर, अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप गर्न माग गरेको थियो । अदालतले आरोपीहरुलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले बताए । प्रहरीले दुई दिनअघि रायमाझीलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको सूचना सार्वजनिक गरेको थियो । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए । उनीहरुको बयानका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले १९ वैशाखमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई पक्राउ गरेको थियो । यसको भोलिपल्ट २० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए । पाण्डेले दिएकाे बयानका क्रममा तत्कालीन गृहमन्त्री खाँण समेत पक्राउ परेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई काठमाडौं जिल्ला अदालतले आज बुधबार थप ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
Advertisement




