काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको कुरा राष्ट्रपतिको सचिवालयले जनाएको छ । आज बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।
राष्ट्रपति पौडेलले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ। राष्ट्रपतिमा चयन भएपछि सङ्घीय संसदमा उनको यो पहिलो सम्बोधन हुन लागेको हो। सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।
सङ्घीय संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने तथा त्यसमाथि छलफल गरी पारित गर्ने सङ्घीय संसद्को मुख्य कार्य जिम्मेवारीभित्र पर्छ । उक्त बैठक अवलोकनका लागि राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति सहभागी हुनेछन् ।
उक्त बैठकपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्ने छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति ती बैठकमा टेबुल गर्नेछन् । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार १० दलको संयुक्त बैठक बोलाएर नीति कार्यक्रममा समेट्नुपर्ने विषयबारे सुझाव मागेका थिए । प्रधानमन्त्री प्रचण्ड आफैंले सार्वजनिक कार्यक्रमहरुमा यसपालिको नीति तथा कार्यक्रम र बजेट, उत्पादनमा वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताइसकेका छन् ।
यसअघिकै ठूला र रणनीतिक महत्वका पूर्वाधार आयोजनालाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा संघीयताको सवलीकरण, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा जलवायु परिवर्तनलाई ध्यानमा राखेर दिगो विकासमा जोड दिइएको प्रधानमन्त्री प्रचण्ड निकट एक नेताले जानकारी दिए ।





