काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि वर्षा हुने र गर्मी घट्ने सम्भावना कमजोर छ ।
खासगरी, मध्य र पूर्वी तराईमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिएको छ । त्यसका कारण ती भूभागमा तातो हावा ‘लू’ चल्ने क्रम जारी छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका केही तथा बाँकी प्रदेशका पहाडका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।
यस्तै, कोशी र मधेश प्रदेशका तराईका १-२ स्थानमा हावाहुरीको समेत सम्भावना देखिएको छ । अत्यधिक गर्मी, मेघ गर्जन, चट्याङ र हावाहुरीबाट हुन सक्ने क्षतिबाट बच्न सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज दिउँसो देशभरको पहाडमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका केही तथा बाँकी प्रदेशका पहाडका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।
आज राति पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान छ । कोशी र गण्डकी प्रदेशका पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।




