काठमाडौं । आज पनि ४ वटा प्रदेशमा वर्षा हुने र अन्य प्रदेशमा प्रचण्ड गर्मी हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ ।
विभागका अनुसार देशका मध्य र पश्चिम तराईमा अत्यधिक गर्मी यथावत् रहने छ। यस्तै, कोशी, वागमती, गण्डकीका पहाडी भेग तथा मधेश प्रदेशमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशका पहाडी भेगमा पनि सोही प्रकृतिको वर्षाको आकलन विभागले गरेको छ ।
तसर्थ, अत्यधिक गर्मी, मेघ गर्जन र चट्याङ तथा वर्षाबाट हुन सक्ने जोखिमबाट आवश्यक सतर्कताका लागि विभागले आग्रह गरेको छ ।
हाल देशको पूर्वी तथा मध्य भागमा मनसुनी प्रणालीको प्रभाव छ। बाँकी भूभागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी, वागमती र गण्डकीका केही र बाँकी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी, वागमती, गण्डकी र मधेश प्रदेशमा मेघ गर्जन र चट्याङसहित बाँकी पहाडी भेगका थोरै स्थानमा पनि सोही प्रकृतिको हल्का वर्षाको सम्भावना छ ।




