काठमाडौं । आज कोशी, वागमती, गण्डकी र मधेश प्रदेशमा वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार मध्य र पश्चिम तराईमा अत्यधिक गर्मी हुने सम्भावना यथावत् छ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही तथा बाँकी पहाडी इलाकाका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना देखिएको छ ।
यस्तै, कोशी प्रदेशको तराईका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
तसर्थ, अत्यधिक गर्मी, मेघ गर्जन, चट्याङ र वर्षाका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कताका लागि विभागले आग्रह गरेको छ ।
हाल देशको पूर्वी र मध्य क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भूभागमा भने प्रि-मनसुनकै जस्तौ स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहने पूर्वानुमान छ । कोशी, वागमती र गण्डकी प्रदेशका केही तथा बाँकी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहने छ । कोशी, वागमती र गण्डकीका केही तथा मधेशसहित बाँकी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।





