काठमाडौं । आज कोशी र गण्डकी प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने सक्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ ।
दुवै प्रदेशका बासिन्दालाई आगामी २४ घण्टा उच्च सावधानी अपनाउन विभागले आग्रह गरेको छ । यस्तै, कोशी र गण्डकीका पहाडी भेगका केही ठाउँ, कोशीको तराई भेग, बाँकी पहाडी इलाकाका थोरै स्थान र देशका बाँकी तराई भूभागका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ ।
देशका मध्य र पश्चिम तराईमा भने अत्यधिक गर्मी यथावत् रहने विभागले जनाएको छ । अहिले देशको पूर्वी र मध्य भेगमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी इलाकामा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव छ ।
आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिमलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी इलाकामा आंशिक बदलीदेखि मौसम सफा रहने पूर्वानुमान छ ।
कोशी र गण्डकीका पहाडी भेगका केही ठाउँ, कोशीको तराई भेग, बाँकी पहाडी इलाकाका थोरै स्थाना र बाँकी तराई क्षेत्रका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आज राति कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई इलाकामा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । यस्तै, कोशी प्रदेशका केही र बाँकी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, कोशी प्रदेशका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ ।





