काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज ५ वटा प्रदेशमा वर्षा हुने प्रक्षेपण गरेको छ ।
विभागका अनुसार कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा वर्षाको सम्भावना देखिएको छ । कोशी प्रदेशका १-२ स्थानमा भने भारी वर्षा हुने सम्भावना देखिएको छ ।
कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मेघ गर्जन, चट्याङ, बाढी, पहिरो, भूक्षय र गेग्रान बहाव तथा वर्षाका कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न उच्च सतकर्ताका लागि विभागले आग्रह गरेको छ।
अहिले देशका पूर्वी र मध्य भेगमा मनसुनी प्रणालीको प्रभाव छ । अन्य क्षेत्रमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव छ ।
आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भेगमा आंशिकदेखि सामान्य बदली एवं तराई क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहने पूर्वानुमान छ। कोशी प्रदेशका केही, वागमती, गण्डकी र कर्णालीका थोरै र बाँकी क्षेत्रका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति कोशी, लुम्बिनी र सुदूरपश्चिमलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी इलाकामा आंशिक बदलीदेखि मौसम सफा रहने पूर्वानुमान छ ।
कोशी, लुम्बिनी, सुदूरपश्चिम, वागमती र गण्डकीका पहाडका थोरै तथा बाँकी भूभागका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका १-२ स्थानमा भने भारी वर्षाको पनि सम्भावना देखिएको छ ।





