काठमाडौं । एक व्यक्तिले किर्ते कागजात बनाई छोरा बनेर अर्काको जग्गा नामसारी गरी ठगी गरेको फेला परेको छ ।
स्याङ्जामा जन्म भएकी उमादेवी गुरुङलाई आमा बनाएर प्रतिवादी सतराज गुरुङले जग्गा हडपेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
गुरुङलाई आफ्नी आमा रहेको भनी नक्कली मुत्यु दर्ता, नाता प्रमाणित प्रमाणपत्रलगायत झुटा कागजह तयार गरी विभिन्न व्यक्ति तथा निकायको मिलेमतोमा उमादेवी गुरुङको नाममा रहेको काठमाडौं कीर्तिपुर नगरपालिका ३ स्थित जग्गा नामसारी गरेको फेला परेको कार्यालयका एसएसपी डा. मनोज केसीले जानकारी दिए ।
उनले किर्ते कागजहरू पेश गरी आफ्नो नाममा नामसारी गरेर संगठित लिखत किर्ते र ठगीसम्बन्धी कसुर गरेको भेटिएको उनले बताए । उनले उमादेवीको नक्कली मृत्युदर्ता र नाता प्रमाणित गरेर जग्गा नामसारी गराउन सफल भएका थिए । तर, जग्गा बिक्री गर्न भ्याएनन् ।
सोही आधारमा मकवानपुरको टिस्टुङ घर भई काठमाडौं कपन बस्ने सतराजलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको कार्यालयले जनाएको छ। प्रहरीले उक्त जग्गा बिक्रीका लागि वैना गर्न लाग्दा फेला पारेको थियो ।




