काठमाडौं । आज कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार देशका पूर्वी र मध्य भागमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भूभागमा भने स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव कायम छ ।
सोही कारण मेघ गर्जन, चट्याङ, बाढी, पहिरो, भूक्षय, गेग्रान बहाव र वर्षाका कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न उच्च सतर्कताका लागि विभागले आग्रह गरेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहने पूर्वानुमान छ । कोशी र गण्डकी प्रदेशका केही तथा वागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा देशको बाँकी क्षेत्रका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी, मधेश र गण्डकी प्रदेशका १-२ स्थानमा भारी वर्षा हुने सम्भावना छ ।





