काठमाडौं । आज कोशी, मधेश, वागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ ।
विभागका अनुसार आज कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
साथै कोशी, मधेश, वागमती र गण्डकीका १-२ स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ । त्यसैले भारी वर्षा, मेघ गर्जन, चट्याङ, बाढी, पहिरो, भूक्षय र गेग्रान बहावका कारण हुन सक्ने क्षतिबाट बच्न उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
मनसुनी प्रणालीको प्रभाव हाल देशको पूर्वी र मध्य भागबाट फैलिन सकेको छैन। बाँकी भूभागमा स्थानीय र पश्चिमी वायुकै आंशिक प्रभाव छ । तथापि, आज भारतको उत्तर प्रदेशमा विकसित निम्न चापीय क्षेत्रको प्रभाव पश्चिमी नेपालमा पर्ने देखिएको छ । सोही निम्न चापीय रेखाको प्रभावका कारण पश्चिम नेपालमा पनि वर्षाको सम्भावना भने देखिएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, वागमती, गण्डकी र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, वागमती र कोशीका थोरै तथा लुम्बिनी र कर्णालीका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।





