काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दावी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ-काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता, कार्यकर्ताहरूले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढनुपर्ने बताए ।
उनले ‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरू पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने तर्क गरे । सभापति लामिछानेले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकीर समेत गरे ।
लडे आफ्नै गोडामा अल्झिएर लड्ने हो भन्दै उनले त्यस्तो हुन नदिनेगरी अघि बढ्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । सभापति लामिछानेले नयाँ पार्टी र व्यक्तिहरू बीच फाटो ल्याउन ठूला दलहरूले संगठित प्रयास गरिरहे पनि सफल हुन नदिने बताए ।
सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत् असहिष्णु व्यवहार प्रर्दशन नगर्न पनि पार्टीका कार्यकर्ता र समर्थकहरूलाई सचेत गराए । हाम्रा पार्टीका कार्यकर्ता र समर्थकहरूले विपक्षको भन्दा पनि माथि उठेर गाली गलौजको भाषा सामाजिक सञ्जालमा प्रयोग गरे त्यसको असर पार्टी र दलका नेतालाई समेत पर्ने भएकाले त्यस्ता काम गर्न नहुने उनको भनाइ थियो ।
सभापति लामिछानेले इमानमा रहेका दिनसम्म मात्रै नेताहरूको बचाउमा लाग्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए । उनले सभ्य र शिष्ट ढंगले विपक्षहरूको आलोचना गर्न सक्नु नै पार्टीको हितमा हुने पनि पटकपटक दोहोर्याए ।
सभापति लामिछानेले भ्रष्टहरूलाई समाप्त पार्ने अभियानमा आफ्नो पार्टी दृढतापूर्वक लागिरहेन प्रतिवद्धता समेत दोहोर्याए।




