काठमाडौं । आज पाँचवटा प्रदेशमा अत्यधिक वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ ।
विभागका अनुसार वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आगामी २४ घण्टा देशभर सामान्यदेखि पूर्णतया बदली रहने देखिएको छ। र, देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रहरू प्रभावित हुन सक्ने विभागले जनाएको छ ।
भारी वर्षा, मेघ गर्जन र चट्याङका कारण हुन सक्ने बाढी, पहिरो, डुबान, भूक्षय र गेग्रान बहावबाट हुने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
अहिले देशभर मनसुनी वायुको प्रभाव छ । मुलुकको पश्चिमी भूभागमा भारतको उत्तरप्रदेशको आकाशमा विकसित निम्न चापीय प्रणालीको पनि प्रभाव छ ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ । वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १-२ स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।
आज राति देशभर सामान्य बदली रहनेछ । वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।





