काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज ४ वटा प्रदेशमा भिषण वर्षा हुने पूर्वानुमान गरेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी र मधेश तथा राति कोशी, गण्डकी र लुम्बिनीमा भिषण वर्षा हुने सम्भावना देखिएको छ ।
आज दिनभर कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेशका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
वर्षाका कारण सडक र हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुन सक्ने सम्भावना छ । तसर्थ, भारी वर्षा, मेघ गर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
देशभर फैलिएको मनसुनी वायुको प्रभावका कारण आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी र मधेशका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ । कोशी, मधेश, वागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी, गण्डकी र लुम्बिनीका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना देखिएको छ । यस्तै, मधेश, वागमती र कोशी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।





