काठमाडौं । आज पाँचवटा प्रदेशमा मुसलधारे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना देखिएको हो ।
कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना देखिएको छ ।
वर्षा र हावाहुरीका कारण सडक र हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रसहित दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने विभागले बताएको छ। तसर्थ, भारी वर्षा, मेघ गर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयका कारण हुन सक्ने क्षतिबाट बच्न उच्च सावधानी आवश्यक देखिएको विभागले बताएको छ ।
मनसुनी वायुको प्रभावका कारण आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र सुदूरपश्चिमका केही स्थानमा आज दिउँसो मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । यस्तै, तराईका केही स्थानमा हावाहुरीको सम्भावना देखिएको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना देखिएको छ । तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।





