काठमाडौं । आज ६ वटा प्रदेशमा भिषण वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ ।
कोशी, मधेश, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भिषण वर्षा हुने विभागको पूर्वानुमान छ ।
विभागका अनुसार सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वर्षाका कारण सडक र हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने विभागले बताएको छ ।
तसर्थ, हावाहुरी, भारी वर्षा, मेघ गर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
हाल देशमा मनसुनी वायुको प्रभाव छ । र, मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिण तर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी र गण्डकीलगायत तराईका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।





