सोलुखुम्बु । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।उक्त हेलिकोप्टरमा चालक दलका सदस्य सहित ६ जना रहेको जनाईएको छ ।
कस्तो छ भौगोलिक स्थिति?
लुक्ला विमानस्थल सन् १९७१ देखि सञ्चालनमा आएको हो।
पछि सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीप्रति सम्मान व्यक्त गर्न यसको नामकरण तेन्जिङ-हिलारी विमानस्थल गरियो।
यो समुद्र सतहभन्दा २८ सय मिटरको उचाइमा छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार यसको लम्बाइ ५२७ मिटर र चौडाइ २० मिटर छ जुन अरू विमानस्थलभन्दा छोटो हो।
छोटो धावनमार्ग भएकाले त्यहाँ ‘ओभरशूट’ सम्भव हुँदैन। त्यसै उडान गर्नु त्यहाँ अवतरण गर्नु कठिन हुने विज्ञहरू बताउँछन्।
अरूभन्दा कसरी भिन्न?
अन्तिम अवस्थामा अवतरण सुरक्षित नमानिए विमानस्थलमा विमानलाई सीधा अगाडि वा दायाँबायाँ उडाउन सकिन मिल्ने ठाउँ हुनुपर्ने विज्ञहरू बताउँछन् । ‘ओभरशूट’ विमानस्थलका लागि चाहिने साधारण मापदण्ड मानिन्छ। तर लुक्लामा त्यो मापदण्ड पुगेको छैन ।
छोटो धावनमार्ग भएको हुनाले उड्दा छिटो गति लिन र अवतरणका बेला छिटै रोकिनका लागि विमानस्थलको निर्माण बेग्लै ढङ्गले गरिएको छ ।
यसको तल्लो भाग र माथिल्लो भाग झण्डै १२ डिग्री कोणमा छ । त्यसले धावनमार्गको दुई पुछारबीच १५० फिटको उचाइ फरक पार्छ ।
त्यो भनेको झन्डै १० तले घर बराबरको उचाइ हो ।
एकछेउमा सात सय मिटर अग्लो भीर पनि भएकाले यो विमानस्थललाई संसारकै अति डरलाग्दो विमानस्थलमध्ये एक मानिन्छ ।
भिरालो धावनमार्गका कारण अवतरणका बेला विमान तल झरिसक्दा पनि माथि नै भइरहेजस्तो हुने भएकाले अवतरणको विन्दुलाई निरन्तर ‘मार्क गर्न सक्नुपर्ने’ चुनौति हुने विज्ञहरू बताउँछन् ।




