काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज सातवटै प्रदेशमा वर्षा हुने प्रक्षेपण गरेको छ ।
विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव छ । र, मनसुनको न्यून चापीय रेखा नेपालनजिक पश्चिमतिर सरदर स्थानभन्दा दक्षिण र पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ ।
न्यून चापीय रेखाको प्रभावका कारण आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ ।
त्यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ ।
वर्षाका कारण सडक र हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रहरू र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्नेतर्फ विभागले सचेत गराएको छ ।
तसर्थ, हावाहुरी, भारी वर्षा, मेघ गर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयका कारण हुन सक्ने क्षतिबाट बच्न उच्च सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।





