काठमाडौं । आज मुलुकका तीनवटा प्रदेशमा भिषण वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ।
विभागका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भिषण वर्षा हुने सम्भावना छ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
वर्षाका कारण सडक र हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रहरू र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने विभागले बताएको छ । तसर्थ, हावाहुरी, भारी वर्षा, मेघ गर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयका कारण हुन सक्ने क्षतिबाट बच्न उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
हाल देशमा मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।





