काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितानिवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा सोमवार बुझाउने भएको छ ।
अभिलेखीकरणको सबै काम नसकिएपछि आइतवार बुझाउने भनेको अनुसन्धान प्रतिवेदन सीआईबीले सोमवार बुझाउने भएको हो । सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदन गत शुक्रवार पेस गर्न ताकेता गरेको थियो । तर, सीआईबीले प्रतिवेदन लेखनको काम भइरहेको भनेर शुक्रबार प्रतिवेदन पेस गर्न नभ्याउने जानकारी गराएको थियो ।
सरकारी जग्गा व्यक्तिको बनाउँदा सरकारी कागजात तथा दस्तखत किर्ते भएको प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ । संगठित रुपमा नै किर्ते भएको कसुरमा सीआईबीले अनुसन्धान गरेको हो । किर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न ६० दिनको समय हुन्छ । यो अवधि सकिनै लाग्दा सीआईबीले अनुसन्धान प्रक्रिया सकेको छ । ललिता निवासको जग्गा प्रकरणमा हाल १८ जना सीआईबीको हिरासतमा रहेका छन् ।




